हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई ९२ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ। यो जितसँगै प्रतियोगितामा नेपालको पहिलो विजय पनि भएको छ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि रसिद खानले ५५ रन, सन्दीप जोराले ४७ रन, र लोकेश बमले ३१ रनको उत्कृष्ट योगदान दिए। जवाफमा भारत मात्र तीन ओभरमै ४५ रनमा अलआउट भयो। उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने रोविन उथप्पाले ५ र दिनेश कार्तिक तथा सहबाज नदिमले समान ७–७ रन बनाए।

नेपालका तर्फबाट रसिद खानले तीन विकेट, र रुपेश सिंह तथा बसिर अहमदले समान दुई–दुई विकेट लिए। यसअघि समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेट, श्रीलङ्कासँग ३ विकेट, र अफगानिस्तानसँग पनि पराजित भएको थियो। भारतविरुद्धको यो जितसँगै नेपाली टोलीले प्रतियोगितामा आत्मबल पुनः प्राप्त गरेको छ।