नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा दुई वटा महत्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्नेछन् ।
यसैबीच, आज तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा संशोधन प्रस्ताव पेस गरेका सांसदहरूसँग छलफल हुनेछ ।
त्यसैगरी, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ भने विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ ।
संघीय संसदमा आजको दिन विधेयक तथा विधायन प्रक्रियामा महत्वपूर्ण बहस र छलफल हुने अपेक्षा गरिएको छ ।