भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र परिरहेका पूर्वाधार आयोजनाप्रति कडा असन्तुष्टि जनाउँदै समयमै काम नसकिए ठेक्का रद्द गरिने स्पष्ट सन्देश दिएका छन्। शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–३ मा रहेको चाँदी नदीको अधुरो पुलको स्थलगत निरीक्षणपछि उनले निर्माण कम्पनीलाई अब कुनै बहाना नचल्ने चेतावनी दिए।

अनुगमनका क्रममा मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई प्रत्यक्ष रूपमा बोलाएर बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिए। ठेकेदार साहले पुल निर्माणको करिब ७५ प्रतिशत काम सकिएको र आगामी जेठ महिनाभित्र बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए। तर मन्त्री घिसिङले तोकिएको समयभित्र काम नसकिए सम्झौता तोडिने स्पष्ट चेतावनी दिए।

उक्त पुल निर्माणका लागि पप्पु–शिवशङ्कर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा सम्झौता गरेको थियो। पुल लामो समयदेखि सञ्चालनमा नआउँदा गैडाटार क्षेत्रका स्थानीय बासिन्दाले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको छ।

यसै क्रममा मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने बागमती नदीस्थित बडहर्वा पुलको पनि निरीक्षण गरे। दुर्गा भगवती गाउँपालिका–५ मा निर्माणाधीन उक्त पुल विगत १५ वर्षदेखि अधुरो अवस्थामा छ। विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेको भए पनि पुल अझै सम्पन्न हुन सकेको छैन।

मन्त्री घिसिङले यस परियोजना किन यति लामो समयसम्म रोकियो भन्ने विषयमा छानबिन गरिने बताए। पुलजस्ता संरचना विकासको मेरुदण्ड भएकाले यस्ता आयोजना रोकिँदा समग्र विकास प्रभावित हुने उनको भनाइ थियो। पूर्वाधार निरीक्षणसँगै मन्त्री घिसिङले रौतहटको शिवनगरस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको शिव मन्दिरको अवलोकन पनि गरे।

यसअघि बिहान उनले चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियानअन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गरेका थिए। सरकार अब कागजी प्रतिबद्धतिमा सीमित नरही परिणाम देखिने काम चाहन्छ भन्ने सन्देश मन्त्री घिसिङको रौतहट भ्रमणले दिएको स्थानीयवासीले बताएका छन्।