भारत सरकारले निर्वाचन व्यवस्थापनका लागि नेपाल सरकारलाई २२० वटा सवारीसाधन प्रदान गरेको छ। नेपाल सरकारको आग्रहअनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारीसाधनहरू हस्तान्तरण गरेको हो। बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारीसाधनका साँचो अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री खनालले निर्वाचन प्रयोजनका लागि भारत सरकारबाट सवारीसाधन सहयोग प्राप्त भएको जानकारी दिँदै भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारीसाधनमध्ये दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको बताए।

उनका अनुसार बाँकी सवारीसाधनहरू तथा प्रहरीलाई आवश्यक अन्य सामग्रीहरू समेत चरणबद्ध रूपमा भारत सरकारबाट सहयोगस्वरूप प्राप्त हुनेछन्। यसअघि केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरिसकेको थियो।