भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा खुलेआम हिंडिरहेका निर्दयी आतंककारीहरूलाई एक झट्कामा समाप्त गरिएको दाबी गरेका छन्। सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भारतले गरेको कारबाहीलाई ‘न्यायको अखण्ड प्रतिज्ञा’ भनेका छन्।
१० वैशाखमा भारत प्रशासित जम्मु–कश्मीरमा एक नेपालीसहित २६ जनाको विभत्स हत्या भएपछि सम्पूर्ण भारत एक स्वरमा उठेको थियो। प्रधानमन्त्री मोदीले भने, “धर्म सोधेर निर्दोष नागरिकको हत्या गर्ने आतंककारीहरूमाथि कडा कारबाहीका लागि भारत एकजुट भयो। त्यसपछि आतंकवादलाई माटोमा मिलाउन सेनालाई जिम्मा दिइयो।” भारतले त्यसको जवाफस्वरूप पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानभित्रै रहेका आतंककारी तालिम केन्द्रहरूमा ‘सटीक हवाई आक्रमण’ गरेको दाबी गरिएको छ। ‘अपरेशन सिन्दुर’ अन्तर्गत गरिएको आक्रमणमा एक सयभन्दा बढी आतंककारी मारिएको र आतंकको मुख्य गढ नै ध्वस्त पारिएको प्रधानमन्त्री मोदीको भनाइ छ।
“यो नाम मात्र अपरेशन होइन, सयौं भारतीयको भावना समेटिएको प्रतिबिम्ब हो,” उनले सम्बोधनमा भने, “६ मेको रातदेखि ७ मेको बिहानसम्म पूरै विश्वले देख्यो—भारत अब चुप बस्ने देश होइन।” प्रधानमन्त्री मोदीले भारतीय सेनाको साहस र देशको सुरक्षामा देखाइएको प्रतिबद्धतालाई सलामी दिँदै, आतंकवादको कुनै पनि रुपलाई सहन नहुने सन्देश पाकिस्तानलाई स्पष्ट रूपमा दिएको बताएका छन्।