च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे दुबईमा सुरु हुनेछ। यस खेलमा नाटकीय मोड, रोमाञ्चक प्रतिस्पर्धा र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ।अष्ट्रेलिया ठूला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने टोली हो। तर यसपटक टोलीका केही प्रमुख खेलाडी अनुपस्थित छन्। समूह चरणका तीनमध्ये दुई खेल वर्षाले प्रभावित भए पनि अफगानिस्तानविरुद्धको जितले अष्ट्रेलियाको आत्मविश्वास बढाएको छ।
भारतले भने समूह चरणमा अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको छ। दुबईको वातावरणमा तीन खेल खेलिसकेको भारतका लागि यो मैदान केही सहज हुन सक्छ। टोलीले चार उत्कृष्ट स्पिनर प्रयोग गर्ने सम्भावना छ, जसले अष्ट्रेलियालाई चुनौती दिन सक्छ। कुलदीप यादव भारतको स्पिन बलिङ लाइनअपका प्रमुख खेलाडी हुन्। दुबईको पिचमा अष्ट्रेलियाका स्पिनरहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ। टोलीले तीन फास्ट बलर चयन गर्ने कि अतिरिक्त स्पिनर प्रयोग गर्ने भन्ने चासोको विषय बनेको छ। जुनसुकै अवस्थामा पनि अष्ट्रेलियाले एडम जाम्पाका १० ओभरको पूर्ण उपयोग गर्ने सम्भावना छ।
भारत र अष्ट्रेलियाले सन् २०१० यता एकअर्काविरुद्ध समान २३ जित र २३ हार दर्ता गरेका छन्। च्याम्पियन्स ट्रफीमा भारतले अष्ट्रेलियासँग ४ पटक खेलेकोमा २ खेल जितेको, १ खेल हारेको र १ खेल नतिजाविहीन भएको थियो। भारतले पछिल्ला १३ खेलमा लगातार टस हारेको छ, जसमा १० पटक रोहित शर्मा र ३ पटक केएल राहुल कप्तान थिए।
व्यक्तिगत उपलब्धिका रूपमा म्याक्सवेललाई ओडीआईमा ४ हजार रन पूरा गर्न १७ रन आवश्यक छ भने केएल राहुललाई ३ हजार रन पूरा गर्न ३३ रन आवश्यक छ। दुई वर्षअघि घरेलु मैदानमा भएको ओडिआई विश्वकपको फाइनलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो। यसपटक सेमिफाइनलमा भारत बदला लिने कि अष्ट्रेलिया फेरि बलियो सावित हुने भन्ने कुरा खेलमै निर्भर रहनेछ।