इरानले रुससँगको एसयू–३५ लडाकु विमान खरिद सम्झौतामा समस्या देखिएपछि चीनसँग दर्जनौँ चेङ्दु जे–१०सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको छ। ‘द मस्को टाइम्स’को रिपोर्टअनुसार, इरान हाल चीनसँग ३६ वटा जे–१०सी विमान खरिद गर्न अन्तिम चरणको छलफलमा छ।
यो कदम इरानको वायुसेना आधुनिकीकरण गर्ने प्रयास अन्तर्गत आएको हो, विशेषगरी इजरायल र अमेरिकाबाट बढ्दो सैन्य खतराको सन्दर्भमा। गत महिना इजरायल-अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका आणविक पूर्वाधार लक्षित भएपछि इरानलाई आधुनिक लडाकु विमानको आवश्यकता झन् गम्भीर रूपमा महसुस भएको हो। इरानले सन् २०२३ मा रुससँग ५० वटा एसयू–३५ लडाकु विमान खरिद गर्ने सम्झौता गरेको थियो, तर अहिलेसम्म जम्मा चारवटा मात्रै प्राप्त भएपछि योजना अवरुद्ध भएको छ।
चीनसँगको वार्ता भने नयाँ होइन। सन् २०१५ मै इरानले कम्तीमा १५० वटा जे–१० लिने योजना बनाएको थियो तर भुक्तानी विवादका कारण सम्झौता असफल भएको थियो। चीनले विदेशी मुद्रा मागेको भए पनि इरानले तेल र ग्यासको माध्यमबाट भुक्तानी गर्न खोज्दा सहमति जुट्न सकेन। त्यसमाथि संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले प्रक्रिया अझ जटिल बनाएको थियो। हाल जे–१०सी विमान पाकिस्तानी वायुसेनामा समेत प्रयोगमा छन् र यी विमानलाई ४.५ पुस्ताका उच्च क्षमतायुक्त लडाकु विमानका रूपमा लिइन्छ। लामो दूरीको पीएल–१५ मिसाइल सुसज्जित यो एकल इन्जिन विमानले रुसी एसयू–३५ को तुलनामा सस्तो, प्रभावकारी र भरपर्दो विकल्पका रूपमा मान्यता पाइरहेको छ।
इरानको यो रणनीतिक कदमले विश्व राजनीतिमा शक्तिसन्तुलनको नयाँ चरण आरम्भ हुने संकेत दिएको छ।