इस्लामिक गणतन्त्र इरानले इजरायलको सैन्य आक्रमणपछि कडा प्रतिकार गर्दै अमेरिका, फ्रान्स र बेलायतलाई स्पष्ट चेतावनी दिएको छ । ती मुलुकहरूले इजरायललाई सहयोग गरेमा, मध्यपूर्वमा रहेका तिनका सैन्य अड्डा र जहाजहरू लक्षित हुने इरानले स्पष्ट पारेको छ । शुक्रबार इजरायली आक्रमणको जवाफमा इरानले इजरायलमा भीषण मिसाइल आक्रमण गर्‍यो । दुवै देशबीच थप कारबाहीको चेतावनी दिइरहेका छन् ।

यसबीच कतार, साउदी अरेबिया र ओमानजस्ता मध्यपूर्वी राष्ट्रहरूले इजरायलको आक्रमणको निन्दा गरेका छन् । चीन र रुसले पनि इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै तीव्र विरोध जनाएका छन् । संयुक्त राष्ट्रसंघमा इरानले इजरायलविरुद्ध तत्काल कारबाहीको माग गर्दै सुरक्षा परिषद्सँग हस्तक्षेपको आह्वान गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेससँग वार्ता गर्दै धारा ५१ अन्तर्गत आत्मरक्षाको अधिकार प्रयोग गर्ने इरानको प्रतिबद्धता दोहोर्‍याएका छन् । गुटेर्रेसले पनि इजरायलको कारबाहीप्रति चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम र कूटनीतिक समाधानमा जोड दिएका छन् ।

इजरायली आक्रमणपछि ओमानको मस्कटमा आइतबार हुने भनिएको अमेरिका–इरान आणविक वार्ता रद्द भएको छ । ओमानी विदेशमन्त्रीले वार्ता रद्द भएको पुष्टि गर्दै कूटनीति नै शान्तिको बाटो भएको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानको खतरा निष्क्रिय पार्ने उद्घोष गरेका छन् भने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायलको आक्रमण जारी रहे अझ शक्तिशाली प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न सुझाव दिएका छन् । यो द्वन्द्वको बढ्दो खतरा अहिले विश्वभरको ध्यानको केन्द्र बनेको छ ।