नेपाली कांग्रेस जुम्ला जिल्ला समितिले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा, समानुपातिक प्रणाली र राष्ट्रिय सभाका लागि आफ्ना सम्भावित उम्मेदवारहरूको नाम केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरेको छ। प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष निर्वाचनका लागि चार जना नेताको नाम अगाडि सारिएको छ।
यस सूचीमा कांग्रेस केन्द्रीय सदस्य कान्तिका सेजुवालसँगै जिल्ला सभापति कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्य रहेका छन्। पार्टी भित्र सक्रिय र स्थानीय स्तरमा परिचित यी नेताहरूलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको जनाइएको छ।
त्यसैगरी, समानुपातिक प्रतिनिधित्वतर्फ जुम्लाबाट १४ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्दबहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेकलाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नेत्रकला शाही, नविना केसी बडुवाल, कर्णजंग हमाल, जयन्ती आचार्य, लालबहादुर जिसी र रज्जब अलि मनिहार रहेका छन्।
यस्तै, राष्ट्रिय सभाका लागि कर्णाली प्रदेश कांग्रेस सभापति ललितजंग शाहीसहित चार जनाको नाम सिफारिस गरिएको छ। उक्त सूचीमा भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेत पनि समावेश छन्। पार्टी स्रोतका अनुसार सिफारिस गरिएका नामहरू अब केन्द्रीय समितिमा छलफलपछि अन्तिम निर्णयका लागि अघि बढाइनेछ। जुम्लाबाट सिफारिस भएका यी उम्मेदवारहरूले आगामी निर्वाचनमा पार्टीको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।