कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिलकट्टी जाई शिविरका एक युवक बुधबार बिहान मृत फेला परेका छन्। मृतक ३५ वर्षीय राम रेसर राना आफ्नै घर नजिकै रहेको मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी निरीक्षक झलक शर्माका अनुसार राना साइकलसहित मृत अवस्थामा भेटिएका हुन् र घटनाको अनुसन्धान सुरु गरिएको छ। तर मृतकको निधारमा चोट देखिएको र माथिल्लो शरीरमा लुगा समेत नभएको अवस्थामा शव फेला परेको हुनाले परिवारले घटनामा शंका व्यक्त गरेका छन्। मंगलबार साँझ खाना खाएर साइकल लिएर घरबाट निस्किएका राना त्यसपछि सम्पर्कविहीन भएका थिए। बुधबार बिहान उनको शव फेला परेपछि परिवार र स्थानियवासी आक्रोशित बनेका छन्। रानाको निधारमा गम्भीर चोट देखिएको र परिस्थिति रहस्यमय देखिएकोले परिवारजनले कसैले कुटपिट वा हत्या गरेको हुनसक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रहरीले शवलाई परीक्षणका लागि पठाएको र घटनाको सबै पक्षबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र शंका उत्पन्न गराएको छ। यस्तो घटनाले फेरि एकपटक ग्रामीण क्षेत्रमा सुरक्षाको अवस्था कस्तो छ भन्ने प्रश्न उठाएको छ।