काठमाडौं — दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै दोस्रो जित दर्ता गरेको छ। टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमै १ सय ३५ रनमा समेटिएपछि पराजित भयो।

लुम्बिनीले सुरुवाती चरणमै कमजोर प्रदर्शन गर्‍यो। पावर प्लेभित्रै तीन विकेट गुमाउँदै ४९ रनमा सीमित भएको टोली ७२ रनमै ६ विकेट गुमाएपछि दबाबमा पर्‍यो। ओपनर डार्सी सर्ट २२ रनमा आउट भए भने गुलबद्दीन नाइब ११ रनमै समातिए। कप्तान रोहित पौडेल पनि ११ रनमा एलबिडब्लु भएपछि लुम्बिनी थप संकटमा परेको थियो।

लुम्बिनीका लागि शेर मल्लले १७ बलमा २६ रन र दीलिप नाथले २५ रन बनाए पनि टोलीलाई जितको मार्गमा फर्काउन सकेनन्। अन्त्यतिर आवश्यक १८ बलमा ३३ रन पर्ने अवस्थामा मल्ल रन आउट भएपछि लुम्बिनीको जितको आशा टुट्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। काठमाडौंले पावर प्लेमा दुई विकेट गुमाउँदै ४२ रन मात्रै जोडेको थियो। ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३२ रन बनाए।

खेलको मोड १९औँ ओभरमा आयो। कप्तान करण केसीले लुम्बिनीका बलर रुबेन ट्रम्पलम्यानलाई एकै ओभरमा ४ छक्का प्रहार गर्दै २८ रन जोडे। उनी ११ बलमा ३४ रन बनाएर अविजित रहे ।काठमाडौंका बलर मिलिन्द कुमार र जेरार्ड इरासमसले समान दुई–दुई विकेट लिए। करण, रसिद, साहब र सन्तोषले एक–एक विकेट हात पारे।

चार खेलको अन्त्यमा काठमाडौंले २ जितसहित ४ अंक जोडेको छ। लुम्बिनीले भने तीन खेलमा १ जितसहित २ अंक मात्रै जोडेको छ।लिगअन्तर्गत भोलि विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।