काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा सार्वजनिक संरचनामा क्षति पुगेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख जरिवाना तिराएको छ। आइतबार पूर्वराजाको स्वागतमा सहभागी समर्थकहरूले विभिन्न स्थानमा फोहोर गरेको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले कारबाहीस्वरूप जरिवाना तोकेको थियो।
महानगरपालिकाको निर्णयअनुसार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही आफैं उपस्थित भएर महानगरलाई जरिवानाको रकम बुझाएका हुन्। महानगरले पठाएको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका क्षेत्रमा सडक, सडकपेटी, हरियाली क्षेत्र र रेलिङ्गमा क्षति पुर्याइएको उल्लेख छ।
यसअघि, काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र सौन्दर्य कायम राख्न तोडफोड वा फोहोर गर्ने व्यक्तिलाई कारबाही गर्ने नीति लिएको जनाएको थियो।