संसदमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने विषयलाई लिएर चर्को बहस भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सांसद श्याम कुमार घिमिरेले आइतबारको संसद बैठकमा नेपालमा कानुनी रूपमा यौन व्यवसायलाई खुल्ला गर्नुपर्ने र पर्यटकलाई आकर्षित गरी अर्थोपार्जन गर्नुपर्ने धारणा राखेका थिए।
घिमिरेको यो भनाइप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले कडा प्रतिक्रिया दिएकी छन्। उनले संसद बैठकमै बोल्दै भनिन्, “यस्तो अपाच्य विचारले मर्यादित समाजलाई अराजकतिर लैजान्छ। यस्तो धारणा संसदमा उठाइनु आपत्तिजनक छ।” साथै, उनले सभामुखसमक्ष सो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरिन्।
सांसद राईले घिमिरेलाई कडा प्रश्न गर्दै भनिन्, “यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने माग राख्ने तपाईं आफ्नै घरबाट यस्तो व्यवसाय सुरु गर्ने आँट गर्नुहुन्छ?” यो विषय संसदमा विवादको रूपमा उभिएपछि अन्य सांसदहरूबीच पनि मतभेद देखिएको छ। अब संसदले यस विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ।