काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङलाई हटाउने निर्णयबारे स्पष्ट गर्दै कुनै पनि कर्मचारी मन्त्रीप्रति वा कानुनप्रति लोयल नभए कारबाही हुन सक्ने बताएका छन्।
संसद बैठकमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले कुलमान घिसिङ हटाउने निर्णय सरकारको नियमित प्रक्रियाभित्र पर्ने उल्लेख गरे। उनले भने, “राष्ट्रसेवक कर्मचारीको मूल्यांकनका लागि प्रक्रिया छ। राम्रो काम गर्नेले पुरस्कार पाउँछ, गल्ती गर्नेले कारबाही भोग्छ। कुनै पनि कर्मचारी मन्त्री वा कानुनप्रति लोयल नभए, उनलाई सरुवा गर्ने, जगेडामा राख्ने वा पदमुक्त गर्नेसम्मका निर्णय गर्न सकिन्छ।”
ओलीले थपे, “यो अहिलेको सरकारले मात्र होइन, अघिल्लो सरकारले पनि यस्तै निर्णय गर्दै आएको छ।”
सांसदहरूले कुलमान घिसिङ हटाउने निर्णयबारे प्रश्न उठाएपछि ओलीले संसदलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। संसदमा विपक्षी दलका सांसदहरूले कुलमान घिसिङको पुनर्नियुक्तिको माग गरिरहेका छन्।