काठमाडौं,शिक्षकहरूको आन्दोलन निरन्तर जारी रहेको बेला, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक सन्देश दिँदै आन्दोलनलाई शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न आग्रह गरेका छन्।
बालेन शाहको भनाइ:
“प्रिय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभएकोमा धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजिएको हो। यही शिक्षा तपाईले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला।”
शिक्षक आन्दोलनको प्रभाव
शिक्षकहरूले उठाएका मागहरू जायज भए पनि विद्यालय बन्द गरेर गरिएको आन्दोलनले विद्यार्थीहरूको भविष्यमा असर पार्न सक्ने भएकाले शिक्षण सिकाइलाई निरन्तरता दिने उपाय खोज्नुपर्ने मेयर शाहको सुझाव छ।
सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड
बालेन शाहले सार्वजनिक सम्पत्तिलाई सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा।”
स्थानीय तहलाई अधिकार प्रत्यायोजनको आवश्यकता
बालेन शाहले शिक्षकहरूलाई काठमाडौं आउन बाध्य पार्ने व्यवस्थाको पुनर्विचार गर्नुपर्ने बताए। “गाउँगाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो। आशा छ, एक दिन आफ्नो अधिकारको लागि काठमाडौं धाइरहनु नपरोस्,” उनले भने।
नागरिकहरूको प्रतिक्रिया
शिक्षकहरूको आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। आम नागरिकले शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरिरहेका छन्। कतिपयले भने आन्दोलनको स्वरूप फेरि विचार गर्नुपर्ने सुझाव दिएका छन्।