केन्याको रिफ्ट भ्याली क्षेत्रस्थित एक बालिका विद्यालयको छात्रावासमा राति भएको भीषण आगलागीमा कम्तीमा १६ छात्राको मृत्यु भएको छ। घटनामा दर्जनौं विद्यार्थी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
पश्चिम–मध्य केन्याको गिलगिल क्षेत्रमा रहेको ‘उतुमिशी गर्ल्स एकेडेमी’ मा बिहीबार मध्यरातपछि आगलागी भएको हो। विद्यार्थीहरू सुतिरहेको समयमा आगो फैलिएको अधिकारीहरूले बताएका छन्।
केन्याका शिक्षा मन्त्री जुलियस ओगाम्बाले आगलागीमा ७९ जना विद्यार्थी घाइते भएको जानकारी दिएका छन्। तीमध्ये अधिकांशलाई उपचारपछि अस्पतालबाट घर पठाइएको छ भने केही विद्यार्थी अझै उपचारमा छन्।
आगो छात्रावासको माथिल्लो भागबाट सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। केही विद्यार्थी झ्यालबाट हाम फालेर ज्यान बचाउन सफल भएका थिए। भाग्ने क्रममा धेरै विद्यार्थी घाइते भएका छन्।
स्थानीय टेलिभिजनमा प्रसारण भएका दृश्यमा जलेका भवन, फुटेका झ्याल र धुवाँले कालो बनेका भित्ताहरू देखिएका छन्। विद्यालयबाहिर आफन्तहरू हराइरहेका छोराछोरीको खोजीमा जम्मा भएका थिए।
प्रहरीले विद्यालय क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
केन्यामा विद्यालयमा आगलागीका घटना नयाँ होइनन्। पछिल्ला वर्षहरूमा छात्रावासमा भएका यस्ता घटनामा धेरै विद्यार्थीको ज्यान गएको छ। कमजोर सुरक्षा व्यवस्था, भीडभाड भएका छात्रावास र आकस्मिक उद्धारको अभावलाई यस्ता दुर्घटनाको मुख्य कारण मानिन्छ।
सन् २००१ मा राजधानी नैरोबी नजिकैको एक विद्यालयमा भएको आगलागीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो। त्यसयता पनि विभिन्न विद्यालयमा आगलागी दोहोरिँदै आएको छ।
गत वर्ष पनि मध्य केन्याको एक बोर्डिङ स्कुलमा भएको आगलागीमा २१ जनाको मृत्यु भएको थियो। त्यतिबेला पनि घटनाको कारण स्पष्ट रूपमा पत्ता लाग्न सकेको थिएन।