कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान स्तरोन्नतिको काम तोकिएको समयमा नसक्ने निर्माण कम्पनीहरूलाई सरकारले कडा कारबाही सुरु गरेको छ। प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम समयमै सम्पन्न नगरेपछि ठेकेदार कम्पनीहरूलाई दैनिक रु दुई लाखभन्दा बढी हर्जना तिराउन थालिएको छ।

सहरी विकास मन्त्रालयका अनुसार, काम ढिलाइ गर्ने ठेकेदारहरूलाई पूर्वसम्झौता बमोजिम आयोजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक हर्जना लाग्ने व्यवस्था गरिएको छ। प्यारापिट निर्माणका लागि बीकेओआई–केसिडिसी–बिजीको संयुक्त उपक्रम (जेभी) र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीसँग गत फागुन १९ र २२ गते सम्झौता भएको थियो। प्यारापिट निर्माणको लागत रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाख तय गरिएको थियो।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठका अनुसार, असार ३० गतेदेखि हर्जना लाग्ने सूचित गरिएको छ र अहिले दैनिक जरिवाना तिरेर काम भइरहेको छ।कंठले भने, “२०० दिनसम्म दैनिक हर्जना तिरेर काम गर्न पाउने कानुनी व्यवस्था छ। यो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेछौं।” हालसम्म प्यारापिट निर्माणतर्फ ६३ प्रतिशत वित्तीय र ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ। चार हजार कुर्सी जडान भइसकेका छन् भने ६ मध्ये ३ वटा फ्लडलाइट पोल आइसकेका छन्।

कम्पनीले बाँकी काम एक महिनाभित्र सक्ने प्रतिबद्धता जनाएको छ। तर समयमै पूरा नभए थप कडा कारबाहीको संकेत सरकारले दिएको छ।