कोलकाता होटल आगलागीमा ९ जनाको मृत्यु, भेन्टिलेसनमा गम्भीर लापरवाही आशंका
भारतको पश्चिम बंगालस्थित कोलकाताको एक बहुहोटल भवनमा बुधबार बिहान भएको आगलागीमा नौ जनाको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानले आगोको प्रत्यक्ष तापभन्दा भवनभित्र फैलिएको बाक्लो कालो धुवाँ, कमजोर हावा निकास र साँघुरा आवतजावतका बाटोले मानवीय क्षति बढाएको देखाएको छ।
मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको भवनमा बुधबार बिहान करिब २ बजे आगो लागेको थियो। मृतकमध्ये दुई महिला र एक बालकसमेत रहेको विवरण सार्वजनिक भएको छ। घटनामा कम्तीमा ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार उद्धारका क्रममा अचेत अवस्थामा फेला परेका नौ जनालाई मेडिकल कलेज एन्ड हस्पिटल लगिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतकका शरीरमा गम्भीर रूपमा जलेका चोट नदेखिएको र भवनभित्र अत्यधिक धुवाँ भरिएको अवस्थाका आधारमा उनीहरूको मृत्यु निसास्सिएर भएको प्रारम्भिक निष्कर्ष छ।
घटनास्थलमा पुगेका दमकलकर्मीलाई समेत बाक्लो धुवाँका कारण माथिल्लो तलासम्म पुग्न कठिन भएको थियो। आगोको तीव्रता तुलनात्मक रूपमा कम भए पनि धुवाँ भवनभरि तीव्र गतिमा फैलिएको उद्धारमा संलग्न अधिकारीहरूको भनाइ छ।
एउटै भवनमा धेरै होटल, सुरक्षा व्यवस्थामाथि प्रश्न
घटनापछि भवनको संरचना र त्यहाँ अपनाइएको अग्नि सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ। प्रहरीले सुरुमा एउटा होटलमा आगलागी भएको ठानेको थियो। तर उद्धार र प्रारम्भिक अनुसन्धानका क्रममा एउटै भवनका विभिन्न तलामा धेरै होटल तथा गेस्ट हाउस सञ्चालन भइरहेको खुलेको छ।
भवनभित्रका कोठा साना, आवतजावत गर्ने बाटा साँघुरा र अग्नि सुरक्षाका पूर्वाधार न्यून रहेको अधिकारीहरूले बताएका छन्। आगलागीपछि कालो धुवाँले गल्ली र भर्याङ ढाक्दा त्यहाँ बसेकाहरूलाई सास फेर्न मात्रै होइन, बाहिर निस्कने सुरक्षित बाटो पहिचान गर्नसमेत कठिन भएको थियो।
यही अवस्थाले सामान्य स्तरको आगलागीलाई ठूलो मानवीय क्षतिमा परिणत गरेको हुन सक्ने आशंका गरिएको छ। विशेषगरी पर्याप्त भेन्टिलेसन नहुँदा धुवाँ बाहिर निस्कन नसकेको विषय अब अनुसन्धानको केन्द्रमा परेको छ।
प्रहरी र दमकलको टोलीले भवनबाट ठूलो संख्यामा मानिसलाई सुरक्षित निकालेको जनाएको छ। उद्धार तथा आगो नियन्त्रणको काम बिहान करिब साढे ४ बजेसम्म चलेको थियो। त्यसपछि फरेन्सिक साइन्स ल्याबोरेटरी (एफएसएल) को टोलीसमेत घटनास्थल पुगेर प्रमाण संकलन थालेको छ।
प्रहरीले घटनासँग सम्बन्धित होटलको पहिचान ‘होटल शिखाली’का रूपमा गरेको छ। न्यू मार्केट प्रहरी चौकीमा होटल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। आगलागीको वास्तविक कारण भने अझै खुलिसकेको छैन र अनुसन्धान जारी छ।
प्रारम्भिक विवरणमा मृतकहरू बंगलादेशी नागरिक रहेको र उनीहरू उपचारका लागि कोलकाता आएको उल्लेख गरिएको छ। घाइतेहरूको कलकत्ता मेडिकल कलेजमा उपचार भइरहेको छ।
पश्चिम बंगालका अग्नि मन्त्री कौशिक चौधरीले घटनास्थल पुगेर अवस्था तथा राहत–उद्धार कार्यको निरीक्षण गरेका छन्।
कोलकाताको यो घटना पश्चिम बंगालकै तारापीठमा भएको अर्को घातक होटल आगलागीको दुई दिनपछि भएको हो। तारापीठको घटनापछि सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएका कम्तीमा १५ होटलको सञ्चालन रोकिएको थियो।
लगातारका यी घटनाले विशेषगरी साना होटल तथा गेस्ट हाउसमा आपतकालीन निकास, भेन्टिलेसन, अग्नि नियन्त्रण उपकरण र नियमित सुरक्षा अनुगमनको प्रभावकारितामाथि नयाँ बहस खडा गरेको छ।

