काठमाडौं। लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।

गत सिजन अंक तालिकाको पुछारमा रहँदै पहिलो चरणमै बाहिरिएको लुम्बिनीले यस सिजन भने उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेको हो। सिजनको सुरुआतमा चितवन राइनोजलाई ६ विकेटले हराएपछि लुम्बिनी लगातार तीन खेलमा पराजित भएको थियो। कर्णालीसँग ९ विकेट, काठमाडौँसँग २२ रन र सुदूरपश्चिमसँग ७ विकेटको हार बेहोरेपछि टोली बाहिरिने संघारमा पुगेको थियो।

तर त्यसपछि लुम्बिनीले लिग चरणमा पोखरालाई ३ विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। एलिमिनेटरमा काठमाडौँलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको लुम्बिनीले त्यहाँ विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो।

फाइनलमा पनि सुदूरपश्चिममाथि सानदार जित निकाल्दै लुम्बिनीले लगातार तीन हारपछि लगातार ६ जित दर्ता गर्दै एनपिएलको उपाधि जित्न सफल भयो। यो जितसँगै लुम्बिनी लायन्सले नेपाली फ्रेन्चाइज क्रिकेटमा ऐतिहासिक पुनरागमनको उदाहरण प्रस्तुत गरेको छ।