जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउनुपर्ने बताएका छन्। रास्वपाले सोमबार जनकपुरको त्रिभुवनिया गाछीमा आयोजना गरेको ‘परिवर्तनको उद्घोषण सभा’लाई सम्बोधन गर्दै उनले अधिकारका लागि नागरिकहरू काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।
बालेनले अहिलेको व्यवस्थामा स्थानीय तहका सामान्य कामका लागि समेत काठमाडौं धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। उनले भने, “एउटा पालिकाले प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्दा काठमाडौं जानुपर्छ, उखु किसानले उचित मूल्य पाउन काठमाडौं पुगेर आन्दोलन गर्नुपर्छ, मिटरब्याजपीडितले न्यायका लागि सिंहदरबार घेराउ गर्न बाध्य छन्।” अब देशभरबाट काठमाडौं पशुपतिनाथ र शम्भुनाथको दर्शन गर्नका लागि मात्रै जाने वातावरण बनाइनुपर्ने उनको भनाइ थियो।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा गरेका कामहरूको स्मरण गर्दै बालेनले देशका ३५ वटा पालिकालाई एम्बुलेन्स उपलब्ध गराइएको, २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिइएको र १० हजार नागरिकलाई काठमाडौंका महँगा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको बताए। यसलाई उनले समाजवादको असली अभ्यासको रूपमा व्याख्या गरे।
सभामा मैथिली भाषामा सम्बोधन गरेका बालेनले आफू काम गरेर देखाउन आएको स्पष्ट पारे। “म काम गर्न आएको हुँ। काम गरेर देखाउँछु, काम गर्ने वातावरण तपाईंहरूले बनाइदिनुस्,” उनले भने। काठमाडौं महानगरको मेयर हुँदा कामको व्यस्तताका कारण धेरै सार्वजनिक मञ्चमा नबोलेको उल्लेख गर्दै उनले राजीनामा दिएपछि जनकपुरमा पहिलोपटक सार्वजनिक रूपमा बोलेको बताए।
उनले मतदातालाई भावनात्मक अपिल नगरी विवेक प्रयोग गर्न आग्रह गर्दै भने, “मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे देशको प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला।”
बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकैठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जाति र समुदायको समान विकास हुनुपर्ने धारणा व्यक्त गरे।