काठमाडौँ–भक्तपुर सीमाना नजिक मनोहरा खोलाको किनारमा रहेको सुकुम्बासी बस्तीमा शुक्रबार बिहान झडप भएको छ। काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत पर्ने उक्त क्षेत्रमा अवैध संरचना हटाउन पुगेको महानगरको टोलीलाई बस्तीबासीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा पुगेको टोलीसँगै सुरक्षाको लागि नेपाल प्रहरी पनि खटिएको थियो। महानगरका अनुसार सो क्षेत्र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बसोबास निषेधित क्षेत्र हो, र खोलाको किनारमा बनेका टहरा तथा घरहरू अवैध भएकाले भत्काउने कारवाही गरिएको हो।
खोलाको बहाव परिवर्तनका कारण केही क्षेत्र भक्तपुरतर्फ देखिए पनि कानुनी रूपमा मनोहरा काठमाडौँ महानगरपालिका भित्रै पर्ने महानगरले स्पष्ट पारेको छ। अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र वातावरण तनावपूर्ण छ।