भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले पश्चिम बंगालमा स्थानीय सडकखाजा ‘झालमुडी’ खाएको भिडिओ अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। आइतबार पश्चिम बंगालमा भएको चुनावी सभापछि उनले झालमुडी चाखेका हुन्। त्यसको झलक उनले आफ्नो आधिकारिक एक्स (ट्विटर) मार्फत भिडिओ र तस्बिरसहित सार्वजनिक गरेका छन्।
नरेन्द्र मोदीले लेखेका छन्— “व्यस्त आइतबारका चारवटा सभाबीच झारग्राममा स्वादिलो झालमुडी खाने मौका पाएँ।”उनले सार्वजनिक गरेको भिडिओमा १ करोड १० लाखभन्दा बढी हेराइ र तस्बिरमा ६० लाखभन्दा बढी पहुँच देखिएको छ। अन्य सामाजिक सञ्जालहरूमा पनि उक्त दृश्य तीव्र रूपमा फैलिएको छ।
भिडिओमा नरेन्द्र मोदीले पसलेसँग रमाइलो संवाद गर्दै भन्छन्, “भाइ, हामीलाई आफ्नो झालमुडी खुवाऊ।”त्यसपछि मूल्य सोध्दा विक्रेताले “१० वा २० रुपैयाँ” भन्छन्। नरेन्द्र मोदी मुस्कुराउँदै “जे होस्, बनाइदिनुहोस्” भन्दै आफ्नै खल्तीबाट पैसा निकालेर तिर्न खोज्छन्। सुरुमा विक्रेताले अस्वीकार गरे पनि उनको आग्रहपछि रकम लिन्छन्। प्याज हाल्ने कि नहाल्ने भन्ने प्रश्नमा उनको जवाफ झन् रोचक देखिन्छ— “हुन्छ, खाऔं… बस दिमाग नखाऔं।”
झालमुडी के हो?
झालमुडी भारतको लोकप्रिय सडकखाजा हो, जुन नेपालमा पाइने चटपटेजस्तै हुन्छ। विशेषगरी पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रमा लोकप्रिय यो खाजा भुजा (मुरमुरा), बदाम, आलु, काँक्रो, प्याज, टमाटर र विभिन्न मसला मिसाएर तयार गरिन्छ। प्रायः कागजको कोनमा राखेर बेचिने यो खाजा सस्तो, छिटो र स्वादिलो मानिन्छ।
नरेन्द्र मोदीको सामान्य जनतासँगको यस्तो सहज र रमाइलो शैलीले भिडिओलाई अझ आकर्षक बनाएको देखिन्छ।