दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कुनै खेल नहुने भएको छ। लगातार दुई–दुई खेल खेलेका टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनको विश्राम दिएको हो। खेल नहोस् तर दर्शकमा उत्साह भने उस्तै–उस्तै छ। सोमबार हुने दुवै खेलका टिकट खेल आउन एक दिनअघि नै सोल्डआउट भएका छन्।
टिकट बिक्रीको जिम्मा पाएको खल्ती ले सोमबारका खेलका सबै टिकट सकिएको जानकारी सार्वजनिक गरेको हो। पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान पौने १२ बजे, दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउँसो ४ बजे हुने कार्यक्रम छ। क्यानले साधारणतर्फ करिब ९ हजार, भिआइपीसहित १३ हजार दर्शक क्षमता रहेको जनाएको छ।
प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स अपराजित रहँदै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान २ अंकसहित काठमाडौं तेस्रो, लुम्बिनी चौथो, चितवन पाँचौँ र कर्णाली छैटौँ स्थानमा छन्। जनकपुरले एक खेल खेलेको छ भने पोखरा लगातार दुई खेलमा पराजित हुँदै पुछारमा छ।
यसअघि उद्घाटन दिनका खेल र शनिबारका दुवै खेल पनि पूरा सोल्डआउट भएका थिए। सरकारद्वारा प्यारापिट निर्माण र फ्लडलाइट जडान गरेपछि त्रिवि मैदानमा पहिलोपटक रात्री खेल सम्भव भएको हो, जसले दर्शकको भीड झनै बढाएको छ।