शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा अत्यधिक रूपमा नयाँ–नयाँ राजनीतिक दल दर्ता भइरहनु जेन–जी आन्दोलनका लक्ष्य कमजोर बनाउने खतरा भएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हालसम्म १२३ दल दर्ता भइसकेको र ३२ दल दर्ता हुने प्रक्रियामा रहेको तथ्य प्रस्तुत गर्दै यसलाई “स्व–विनाशतिर लाने व्यवहार” भन्दै चेतावनी दिए।
“यी नेताहरू आफूले नै पुर्ने खाल्डो आफैं खन्दैछन्,” उनले लेखे।
मन्त्री पुनका अनुसार नेपालीहरू सानोतिनो कुरामा फुट्ने, नमिल्ने, र निर्वाचन आयोगमा नयाँ दल दर्ताको होड चलाउने प्रवृत्तिले देशको राजनीतिक स्थिरता बिग्रँदै गएको छ।

उनले चेतावनी दिँदै भने,
“यस्तै ताल रहे पुरानै पापी, भ्रष्टाचारी, जाली–फटाहा नेताहरूको शासन फर्किन्छ। जेन–जी आन्दोलनको लक्ष्य तुहिन्छ, अहिलेको मन्त्रीपरिषद्ले गरेको सकारात्मक निर्णयहरू उल्ट्याइन्छ।” पुनले संसारमा फुटेर होइन, आपसमा मिलेर र जुटेर मात्र शक्ति बढ्ने भन्दै राजनीतिक नेतृत्वलाई आत्ममन्थन गर्न आग्रह गरेका छन्।