प्रतिकूल चिसो मौसमका बाबजुद यस वर्ष मुस्ताङमा पर्यटकको उल्लेख्य वृद्धि देखिएको छ। विगतका वर्षहरूको तुलनामा सन् २०२६ को जनवरी महिनामै मुस्ताङमा पर्यटकीय उभार आएको हो।
मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरी महिनामा मात्र १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार उक्त अवधिमा सार्क राष्ट्रबाट १० हजार ४५ जना तथा अन्य देशका ७७७ जना विदेशी पर्यटक मुस्ताङ आएका हुन्।
यसअघि सन् २०२५ को जनवरी महिनामा मुस्ताङ भित्रिने विदेशी पर्यटकको संख्या चार हजार ३४६ मात्र रहेको एक्याप जोमसोम कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको जनवरीको तुलनामा यस वर्षको जनवरीमा छ हजार ४७६ जना विदेशी पर्यटक थपिएको प्रमुख गुप्तले जानकारी दिए।
चिसो मौसम, हिमपात र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि पर्यटकको आकर्षण बढ्नु मुस्ताङको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाका कारण मुस्ताङ वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।