राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस महिनाको दोस्रो साताभित्र राष्ट्रियसभाको बैठक बोलाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार संसद् भवन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेकाले अब छिट्टै बैठक सञ्चालन गर्न सकिने अवस्था बन्दैछ।

मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन चाँडै तयार हुने विश्वास व्यक्त गरे। उनले ठेकेदारलाई काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिइसकेको र पुस १२ गतेसम्म बैठक बोलाउने योजना रहेको बताए।

संघीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ। २०७६ साल असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त भवनको निर्माणका लागि त्यसको १६ दिनपछि झण्डै ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

हाल संसद् बैठक सञ्चालनका लागि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र प्रयोग हुँदै आएको छ, जसका लागि सरकारले वार्षिक करिब १५ करोड रुपैयाँ भाडा तिर्दै आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यो खर्च घट्ने अपेक्षा गरिएको छ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग बैठक आह्वानबारे छलफल भइसकेको र यस विषयमा कुनै पनि तहबाट असहमति नरहेको स्पष्ट पारे। उनका अनुसार बैठक बसेपछि विधेयकमाथि छलफल, आयोगका प्रतिवेदनमाथि काम र आवश्यक परेमा सम्बन्धित मन्त्रीहरूलाई आमन्त्रण गरेर छलफल गर्न सकिनेछ।

हाल राष्ट्रियसभामा चारवटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये एक आर्थिक विधेयक अध्यादेशमार्फत आएको भए पनि त्यसमा राष्ट्रियसभालाई छलफल गर्ने अधिकार नहुने उनले स्पष्ट गरे। उक्त विधेयक प्रतिनिधिसभामै छलफल हुने भएकाले सरकारले त्यसअनुसार कार्यसूची तय गर्नुपर्ने सुझाव आफूले दिएको अध्यक्ष दाहालले बताए।