मुम्बईस्थित वानखेडे स्टेडियममा जारी विश्वकप क्रिकेटअन्तर्गत नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने निराशाजनक प्रदर्शन गर्‍यो।

नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमै विना विकेटको क्षति पूरा गर्‍यो। इटालीका मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले शतकीय अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। एन्थोनीले ३२ बलमा ६२ रन तथा जस्टिनले ४४ बलमा ६० रन बनाउँदै नटआउट रहे। यस हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट भयो। नेपाली टोलीका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन जोडे।

ओपनर आशिफ शेखले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे। करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। कुशल भुर्तेल ५, सन्दीप लामिछाने ५, लोकेश बम र गुलशन झा समान ३ रनमा आउट भए। नन्दन यादव र ललित राजवंशी शून्य रनमा रनआउट भए।

इटालीका बलरहरूले सुरुवातदेखि नै दबाब सिर्जना गर्दै नेपाललाई ठूलो स्कोर बनाउन दिएनन्। नेपालले पूरा २० ओभर खेल्न नसक्दा प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न असफल रह्यो। अब सुपर एटको सम्भावना जोगाइराख्न नेपालले आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ।