काठमाडौं – टप एन्ड टी–२० सिरिजमा सहभागी हुन अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच विदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले टोलीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरे।

सोही अवसरमा क्यान र नासा सेक्युरिटिजबीच टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ। यस सिरिजका लागि टोलीमा एक परिवर्तन भएको छ – ललित राजवंशीको स्थानमा साहब आलमले खेल्ने भएका छन्।

अस्ट्रेलिया भ्रमण अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीअन्तर्गत हो। अस्ट्रेलियाको डार्बिनमा हुने यो सिरिज अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ। नेपाली टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ।