अनेक आरोह–अवरोह पार गर्दै तेस्रो पटक आइसिसी टि–ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीका लागि आज महत्वपूर्ण दिन हो। मुम्बईस्थित वाङखडे स्टेडियममा नेपालले दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै यसपटकको विश्वकप यात्रा सुरु गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो। त्यस क्रममा नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै ऐतिहासिक जित दर्ता गरेको थियो। तर सन् २०२४ मा भएको दोस्रो सहभागितामा नेपालले तीन खेल खेल्दा कुनै पनि खेल जित्न सकेन।

यद्यपि, दोस्रो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल जितको निकै नजिक पुगेको थियो। अन्तिम क्षणमा १ रनको हार व्यहोरे पनि नेपालले गरेको प्रदर्शनले विश्व क्रिकेटको ध्यान आकर्षित गरेको थियो। यसपटकको विश्वकपमा नेपालले चार खेल खेल्नेछ। टोलीले अघिल्ला अनुभवबाट सिक्दै बढीभन्दा बढी जित निकाल्ने लक्ष्य लिएको छ। तर समूह चरणको प्रतिस्पर्धा चुनौतीपूर्ण रहनेछ।

नेपाल यसपटक इङ्ल्यान्ड, दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, इटाली र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। सुपर एट चरणमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले कम्तीमा एउटा बलियो टोलीमाथि जित दर्ता गर्नुपर्ने देखिन्छ। विश्वकप छनोटअघि युएईमा भएको सिरिजमा नेपालले वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेपछि नेपाली टोलीप्रति अपेक्षा बढेको छ। तर उक्त सिरिजका वेस्ट इन्डिजका केवल दुई खेलाडी मात्र हालको विश्वकप टोलीमा समावेश छन्।

क्रिकेटमा पहिलो खेललाई निकै महत्त्वपूर्ण मानिन्छ। पहिलो खेलको जितले टोलीको मनोबल बढाउने र आगामी खेलका लागि आत्मविश्वास थप्ने विश्वास लिइएको छ। आजको खेलमा नतिजा जे भए पनि नेपाली टोलीको प्रदर्शन कस्तो रहने भन्नेमा सबैको ध्यान केन्द्रित हुनेछ।