आइसिसी टी–ट्वान्टी विश्वकपअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज वेस्ट इन्डिज क्रिकेट टोली विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। वाङखडे स्टेडियम मा भइरहेको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको जिम्मेवारी पाएको हो। जारी प्रतियोगितामा नेपालले लगातार तेस्रो खेलमा टस गुमाएको छ।
इटालीविरुद्धको खेलको तुलनामा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्पिनर ललित राजवंशी को स्थानमा तीव्र गतिका बलर सोमपाल कामी लाई प्लेइङ–११ मा समावेश गरिएको छ।
समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल ‘गर या मर’को अवस्थामा पुगेको छ। सुपर एटमा पुग्ने झिनो सम्भावना जीवित राख्न नेपाललाई आज जित अनिवार्य छ। आज पराजित भए नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिनेछ।
पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित हुँदा नेपाली टोलीको प्रदर्शनको व्यापक प्रशंसा भएको थियो। तर दोस्रो खेलमा इटालीसँग १० विकेटको एकतर्फी हार बेहोरेपछि टोलीको आलोचना पनि चर्किएको थियो।
वेस्ट इन्डिजले भने सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ। उसले स्कटल्यान्डलाई ३५ रन तथा इंग्ल्यान्डलाई ३० रनले पराजित गर्दै ४ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा आफूलाई राखेको छ। आज नेपाललाई हराउन सके वेस्ट इन्डिज एक खेलअघि नै सुपर एटमा प्रवेश गर्नेछ।
यसअघि युएईमा सम्पन्न तीन खेलको टी–ट्वान्टी सिरिजमा भने नेपालले वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेको थियो। त्यतिबेला टोलीको कप्तानी गरेका अकिल हुसेन र अनुभवी अलराउन्डर जेसन होल्डर पनि आजको खेलमा मैदान उत्रने सम्भावना छ। नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पराजित गरेको एक मात्र टेस्ट राष्ट्र वेस्ट इन्डिज नै हो।
समूह ‘सी’ मा हाल नेपाल मात्र लगातार दुई खेलमा पराजित हुने टोली बनेको छ। इंग्ल्यान्ड दुई जित र एक हारसहित ४ अंकमा दोस्रो स्थानमा छ भने स्कटल्यान्ड एक जित र दुई हारसहित २ अंकमा तेस्रो स्थानमा रहेको छ। इटाली एक जित र एक हारसहित २ अंकमा चौथो स्थानमा छ।
अब सबैको नजर वाङखडेमा जारी यस महत्वपूर्ण खेलतर्फ केन्द्रित छ, जहाँ नेपालले इतिहास दोहोर्याउँदै विश्वकप यात्रालाई जीवित राख्न सक्नेछ कि सक्दैन भन्ने चासो बढेको छ।