काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्ले–अफमा प्रवेश गरेको छ। शनिबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी शीर्ष–चारमा पर्न सफल भएको हो। यो पराजयसँगै साबिक विजेता जनकपुर प्ले–अफबाट बाहिरिएको छ भने चितवन टाइगर्स र पोखरा एभेन्जर्स पनि अन्तिम चारमा स्थान बनाउन असफल भए।
अब प्ले–अफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स पुगेका छन्। सुदूरपश्चिम बाहेक बाँकी तीन टोली पहिलोपटक प्ले–अफमा प्रवेश गरेका हुन्।
लुम्बिनीको रन–चेज : उतार–चढावपूर्ण जित
१ सय ३३ रनको लक्ष्य पछ्याउँदा लुम्बिनीले १९ ओभर १ बलमै ४ विकेटको क्षतिमा जित निकालेको थियो। पहिलो ओभरमै सुमित महर्जन गोल्डेन डकमा आउट भए पनि कप्तान रोहित पौडेल र डार्सी सर्टले ४६ रनको पावरप्ले साझेदारी गर्दै खेल सम्हाले। दुवैले दोस्रो विकेटका लागि ६१ रन जोडे।
तर ३० रन बनाएका सर्ट, त्यसपछि रोहित, सन्दीप जोरासहित लगातार विकेट पतन हुँदा लुम्बिनी दबाबमा परेको थियो। अन्तिमतिर दिलिप नाथ र जेके स्मिथले पारी सम्हाल्दै खेल जिताए। १९ औं ओभरमा नाथले प्रहार गरेको छक्काले लुम्बिनीलाई प्ले–अफ सुनिश्चित गरायो। बलिङतर्फ जनकपुरका संगिथ कोरे सर्वाधिक प्रभावकारी रहे—४ ओभरमा २५ रन दिएर ३ विकेट। मयंक यादवले २ विकेट लिए।
जनकपुरको पारी : कमजोर सुरुआत र संघर्षपूर्ण अन्त्य
टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। पहिलो पावरप्लेमा ३६ रनमै ३ विकेट गुमाएको जनकपुर लगातार दबाबमा रह्यो। आशिफ शेख (२०), अनिल साह (७), माज सदाकत (६) र शुभंशु कंसाकार (११) सस्तोमा फर्किए।
१४ औं ओभरमा कप्तान रोहित पौडेलले लगातार दुई विकेट निकाल्दै जनकपुरलाई थप संकटमा पारे। अन्त्यमा मयंक यादव र संगिथ कोरेले अविजित ४९ रनको साझेदारी गर्दै टीमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। संगिथले ४५*(३८) रन बनाए भने मयंक २७* रनमा अविजित रहे। रोहित र शेर मल्लले समान २–२ विकेट लिए।
अंकतालिका स्थिति
सुदूरपश्चिम रोयल्स – ६ खेल, सबै जित, १२ अंक (शीर्ष स्थान, क्वालिफायर–१ सुनिश्चित)
काठमाडौं गोर्खाज – ७ खेल, १० अंक (प्ले–अफमा)
विराटनगर किंग्स – ६ खेल, ८ अंक (प्ले–अफमा)
लुम्बिनी लायन्स – ७ खेल, ८ अंक (प्ले–अफमा)
जनकपुर बोल्ट्स – ६ खेल, २ अंक (बाहिर)
भोलिका खेलहरू
सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किंग्स
चितवन टाइगर्स बनाम पोखरा एभेन्जर्स