सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाज प्लेअफको ढोका लगभग खोलेको छ। आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमान्डुले लगातार चौथो जीत दर्ता गरेको हो। यससँगै काठमान्डुले ८ अंक बनाउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
अब काठमान्डुले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यो खेलमा हार भए पनि अन्य टिमको नतिजाप्रति निर्भर रहँदै शीर्ष चारमा रहन काठमान्डुसँग बलियो सम्भावना छ। हाल स्थितिअनुसार काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्रै ओभरटेक गर्न सक्ने अवस्था छ।
यता कर्णाली याक्स भने लगातार चौथो हारसँगै प्लेअफको समीकरण जटिल बनेको छ। बाँकी रहेका दुवै खेल जिते मात्र उनीहरूका लागि सम्भावना जीवित रहनेछ, त्यो पनि अरू टोलीको परिणाम सहयोगी बने मात्र।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पूरा गर्यो। इनिङको सुरुवात भने इच्छित जस्तो भएन। ओपनर आकाश त्रिपाठी ८ रनमै आउट भए। तर बने चार्ल्सवर्थले २१ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३४ रनको योगदान दिए। सोमपाल कामीको एक ओभरमै तीन छक्का हानेर उनले सुरुआती दबाब तोडे।
तर आठौँ ओभरमा पवन सर्राफले उनलाई बोल्ड गर्दै फर्काए। त्यसपछि मिलिन्द कुमार १५ रनमा रनआउट भए। कप्तान गेराल्ड इरासमस र जोन सिमसनले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए।
जितका लागि एउटा रन मात्र बाँकी रहँदासम्म सिमसन ४१ रनमा क्याच आउट भए भने पछिल्लो बलमा रशिद खान शून्यमै फर्के। तर इरासमस ३३ बलमा २ छक्का–२ चौकासहित ४३ रनमा नटआउट रहेर टोलीलाई जित दिलाए।