देशको दीगो विकासलाई व्यवहारमै उतार्न नागरिकको सक्रिय सहभागिता मुख्य आधार बन्नु पर्ने धारणा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका प्रमुख हर्कराज साम्पाङ राईले सार्वजनिक गरेका छन्। धरानमा आयोजित कार्यक्रममार्फत पार्टीको घोषणापत्र र दीर्घकालीन एजेन्डा प्रस्तुत गर्दै साम्पाङले योजनाबाट मात्रै विकास नहुने, नागरिकले आफ्नै हातले बनाउने विकास नै स्थायी हुने स्पष्ट पारे।

उनले भने, “देश र समुदायप्रतिको भावनालाई जागृत गराउन श्रमदान सबैभन्दा प्रभावकारी माध्यम हो। सरकारी बजेट र कागजी प्रक्रिया मात्रै भरोसा गरेर बस्ने हो भने परिवर्तन ढिलो हुन्छ।” साम्पाङका अनुसार श्रमदानमार्फत विकास कार्य गर्दा नागरिक स्वयं सहभागी हुन्छन्, जसले योजनाहरूमा अपनत्व र विश्वास दुवै बढाउँछ।

उनका शब्दमा, श्रम संस्कृति पार्टी स्थापना गर्ने मूल उद्देश्य श्रमिकको सम्मान बढाउनुका साथै काम गर्ने हातलाई न्याय र अवसर प्रदान गर्नु हो। समुदायमै आधारित ‘सहभागितामूलक विकास’ मोडेललाई अघि सार्दै उनले आगामी दिनमा जनता स्वयम्‌ विकासको मेरुदण्ड बन्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।