नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएमा राजीनामा दिने चेतावनी दिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो सम्बन्धी समाचारमा कुनै सत्यता नभएको स्पष्ट गरेको हो। विज्ञप्तिमा भनिएको छ, “केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षकले ‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
विज्ञप्तिमा प्रहरीले आईजीपी खापुङले कहीँ कतै पनि त्यस्तो प्रकारको अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ। साथै, प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको बैठकमा देशको समसामयिक सुरक्षा स्थिति र शान्ति–सुरक्षा कायम गर्ने विषयमा मात्र सौहार्दपूर्ण छलफल भएको जनाएको छ।
नेपाल प्रहरीले जनतालाई भ्रमित पार्ने यस्ता असत्य समाचारहरू नफैलाउन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि आग्रह गरेको छ।