नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदका लागि प्रतिनिधिहरूसँग समर्थन मागेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई मत दिन आग्रह गरेका हुन्।

पूर्व उपमहासचिवसमेत रहेका ज्ञवाली यसअघि केपी शर्मा ओली नेतृत्वको समूहबाट महासचिव पदका आकांक्षी थिए। तर पार्टी अध्यक्ष ओलीले महासचिवको उम्मेदवारका रूपमा शंकर पोखरेललाई अघि सारेपछि ज्ञवालीलाई उपाध्यक्षको प्रस्ताव गरिएको थियो। उक्त प्रस्ताव स्वीकार नगरी उनले अन्ततः केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका हुन्।

सोमबार भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गरेर बाहिरिएका ज्ञवालीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत मात्र नभई अध्यक्ष ओली नेतृत्वको समग्र टिमसँग पनि जोडेर हेर्न आग्रह गरेका छन्। फेसबुक सन्देशमा उनले महाधिवेशनलाई पार्टीको आन्तरिक भविष्यसँगै राष्ट्रिय राजनीतिका लागि पनि अर्थपूर्ण बताउँदै ओली नेतृत्वको टिमलाई बलियो मतका साथ विजयी बनाउन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। साथै, आफू सधैं कार्यकर्ताहरूको बीचमै रहने विश्वास व्यक्त गर्दै यसपटक केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्न चाहेको उल्लेख गरेका छन्।