काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हुने बताएका छन्। आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने दाबी गरे।

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ। १६५ निर्वाचन क्षेत्रमध्ये एउटामा पनि देश हार्न हुँदैन।”

झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ संकेत गर्दै ओलीले ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न आएको’ टिप्पणी गरे। बालेनको नाम नलिई उनले भने, “अण्डा दुई प्रकारका हुन्छन्—एउटा बतासे, अर्को साँच्चिकै अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।”

उनले प्रतिपक्षी शक्तिहरूले ‘बतासे खेती’ गरिरहेको आरोप लगाउँदै भने, “यिनीहरूसँग न संगठन छ, न उद्देश्य छ, न विचार छ। भोलि कहाँ जाने भन्ने थाहा छैन, फर्केर आउने हो कि होइन, त्यो पनि थाहा छैन।”

ओलीले अझै कडा अभिव्यक्ति दिँदै भने, “पुल्ठो झोस्न जान्ने, आगो बाल्न जान्ने, देश बिगार्न जान्ने, भड्काउन जान्ने, तोडफोड र लुटपाट गर्न जान्नेहरूलाई क्रान्ति भनेर महिमामण्डन गरिएको छ।”

यस्ता गतिविधिको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उनले ती शक्तिहरूको जनाधार नभएको दाबी गरे। “यी आकाशे खेती हुन्। धर्तीमा जनता माझ पुगेका छैनन्। मोबाइल नामको भाँडोबाट होडलो मच्चाइएको छ,” ओलीले भने।

आफूहरू पनि मोबाइल प्रयोग गर्ने तर जनतामै केन्द्रित राजनीति गर्ने उल्लेख गर्दै ओलीले भने, “हामी देशका लागि काम गर्छौं, जनतासँगै छौं। देशलाई समृद्ध, सुरक्षित बनाउँदै जनतालाई सुखी बनाउने हाम्रो लक्ष्य हो। हामी त्यो गन्तव्यबाट विचलित हुँदैनौं।”