काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गतेको आन्दोलनकै बीच आफूलाई मार्ने षड्यन्त्र भएको सनसनीपूर्ण दाबी गरेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पासहितको टोलीसँग भेट्दा ओलीले भने — “म बालुवाटार छोड्न पाँच मिनेट ढिला भएको भए, ज्यान जाने निश्चित थियो।” उनका अनुसार त्यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई घाइते र आफूलाई मार्ने खालको योजनासमेत बनेको थियो।“यो त महाआपराधिक घटना थियो,” ओलीले स्मरण गर्दै भने, “सुरक्षा संयन्त्रले जोगाउन नसक्ने अवस्था भएपछि अन्तिममा नेपाली सेनाले उद्धार गरेर मलाई शिवपुरी पुर्यायो।”

ओलीले आन्दोलनलाई देशै जलाउने आपराधिक गतिविधि भन्दै एमाले हुँदासम्म यस्ता घटना दोहोरिन नदिने चेतावनी दिए। साथै, यसपटक पार्टीले सम्पत्तिको रक्षा गर्न चुकेको स्वीकार गर्दै अब उच्च मनोबलसहित षड्यन्त्रकारी तत्वलाई नियन्त्रणमा ल्याइने बताएका छन्।