नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी अघि सारेपछि पार्टीभित्र नेतृत्व चयन सम्बन्धी गतिविधि थप तिव्र बन्दै गएको छ। औपचारिक रूपमा कस–कसले सभापतिमा दाबी गर्ने भन्ने स्पष्ट नभए पनि विभिन्न नेताहरुले आफ्ना आकांक्षा सार्वजनिक गर्न सुरु गरेका छन्।
यसै क्रममा पूर्वमहामन्त्री शशांक कोइरालाले आफू सभापति पदमा दाबी गर्न इच्छुक रहेको संकेत गर्दै अन्तिम निर्णय आपसी सल्लाहपछि गर्ने बताए। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, “मैले प्रारम्भिक रूपमा सभापतिमा उठ्ने इच्छा राखेको थियो। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। हामीबीच निरन्तर छलफल भइरहेको छ, अन्त्यमा हामी दुईमध्ये एक जना अघि बढ्नेछौं।”
कोइरालाका अनुसार निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न समय निकै कम छ। उनले पार्टीले तयारीका लागि कम्तीमा तीन महिना आवश्यक पर्ने अभिव्यक्ति दिए। उनको भनाइमा, “यदि पुसभित्र महाधिवेशन सम्भव नभए निर्वाचनपछि सार्नुपर्ने अवस्था आउन सक्छ।”
पार्टीले पुसमै महाधिवेशन गर्ने निर्णय राखे पनि अन्तिम टुङ्गो भने बाँकी नै रहेको कोइरालाले बताए। उनले सबै संरचना, भ्रातृ संगठन र कार्यकर्ताले अहिले देखि तयारीमा लाग्नुपर्ने आवश्यकता औंल्याए। युवापुस्ताको सहभागिता र नेतृत्वमा पीढीगत सन्तुलन अनिवार्य रहेको उल्लेख गर्दै कोइरालाले नयाँ सोच र ऊर्जालाई पनि पार्टीभित्र प्रभावकारी रूपमा समेट्नुपर्ने धारणा राखे।
कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व र रणनीति सम्बन्धी बहस पार्टीभित्र थप चर्किंदै गएको देखिन्छ, जसले आगामी दिनमा राजनीतिक चहलपहल झनै बढ्ने संकेत दिएको छ।