पर्सा — वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राले शनिबार साँझ तनावपूर्ण मोड लिँदा सुरक्षा निकायलाई नियन्त्रणका लागि सेना नै खटाउनु परेको छ।
शनिबार साँझ ६ः३० बजेपछि दुई समुदायबीचको झडपले हिंसात्मक रूप लिएपछि प्रशासनले आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्युका बाबजुद पनि प्रदर्शन जारी रहेपछि सडकमा सेनाको उपस्थितिसमेत देखिएको छ।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अवस्था नियन्त्रणबाहिर जान थालेपछि सेनालाई परिचालन गरिएको पुष्टि गरेका छन्।
कर्फ्यु कार्यान्वयन गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर हरिन्द्र राउत अहिर नाम गरेका एक वृद्ध घाइते भएका छन्। उनको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ।
झडपका क्रममा १२ जना सर्वसाधारण, १५ जना नेपाल प्रहरी र ८ जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन्। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र पनि घाइते भएकामा परेका छन्।
हिंसात्मक घटनामा चार वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने केही होटलमा तोडफोड गरिएको छ। स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले करिब ७५ सेल अश्रुग्यास प्रहार गरेको थियो।अहिलेसम्म पनि स्थिति पूर्णरूपमा सामान्य बन्न सकेको छैन। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसँगै स्थानीयवासी त्रसित बनेका छन्।