सिमा विवाद बारे प्रधानमन्त्री बालेनको को बोलि रेकर्डबाट हटाउन माग

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सिमा विवाद बारे प्रधानमन्त्री बालेनको को बोलि रेकर्डबाट हटाउन माग

नेपाल र भारतबीचको सीमा विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक विवाद निम्त्याएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए।

प्रधानमन्त्रीको यही भनाइलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपाले कडा आपत्ति जनाएका छन्। दुवै दलका सांसदहरूले यस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणबिना अभिव्यक्ति दिन नहुने भन्दै संसदको रेकर्डबाट उक्त भनाइ हटाउन माग गरेका छन्।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले उठाएको विषय गम्भीर भएको बताइन्। यदि नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबी सही हो भने सरकारले त्यसबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

थापाले संसदमा बोल्दै कहाँ र कसरी सीमा मिचिएको हो भन्ने जानकारी दिन सरकारलाई आग्रह गरिन्। प्रमाण प्रस्तुत गर्न नसकिने अवस्था भए प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने उनको माग थियो।

यस्तै, नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको भनाइलाई आपत्तिजनक टिप्पणीको संज्ञा दिए। सीमा जस्तो राष्ट्रिय महत्वको विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्ति स्पष्ट आधारसहित हुनुपर्ने उल्लेख गर्दै उनले उक्त भनाइ रेकर्डबाट हटाउन आग्रह गरे।

विज्ञापनविकिबिजि

नेपाल–भारत सीमा विवाद लामो समयदेखि संवेदनशील राजनीतिक र कूटनीतिक विषयका रूपमा रहँदै आएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले संसदभित्र नयाँ बहस सुरु गराएको छ भने सरकारमाथि थप स्पष्टता दिन दबाब पनि बढाएको छ।