नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई व्यावसायिक फुटबल खेल्न जोर्डन पुगेकी छिन्। उनले सबै प्रक्रिया पूरा गर्दै जोर्डनको प्रतिष्ठित क्लब अल इत्तिहाद सँग सम्झौता गरेकी हुन्। उनलाई एएफसी महिला च्याम्पियनसिप लिग २०२५/२६ को प्रारम्भिक चरणका लागि क्लबले अनुबन्ध गरेको हो।
प्रीति हालसम्म घरेलु विभागीय क्लब नेपाल एपिएफबाट खेल्दै आएकी छिन्। इत्तिहाद क्लब उनको दोस्रो विदेशी अनुभव हो। यसअघि उनले भारतको किक स्टार्स फुटबल क्लबबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्लब यात्रा थालेकी थिइन्। जोर्डन पुगेपछि प्रीतिले आफू आबद्ध भएको क्लब उत्कृष्ट रहेको प्रतिक्रिया दिएकी छिन्। इत्तिहाद क्लब सन् २०१८ मा स्थापना भएको हो र सन् २०२३ र २०२४ मा लगातार लिग च्याम्पियन बनेको छ।
गत वर्ष क्लबले एएफसी महिला च्याम्पियनसिप लिगको समूह ‘बी’ अन्तर्गत भारतको ओडिसा फुटबल क्लब र सिंगापुरको लायन सिटी सँग प्रतिस्पर्धा गर्दै एक खेल जितेको थियो। यस वर्ष क्लब समूह ‘सी’ मा रहेको छ र प्रीतिको आगमनसँगै क्लबले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
प्रीतिको यो उपलब्धिलाई नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर हर्ष व्यक्त गरिएको छ।