चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको थियानजिन शहरमा भेटवार्ता भएको छ । दुई नेताबीचको यो भेटलाई चीन भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

भेटका केही तस्वीरहरू मोदीले आफ्नै आधिकारिक ट्विटर (X) खातामार्फत सार्वजनिक गरेका छन् । तस्वीर शेयर गर्दै मोदीले लेखेका छन्, “थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।” मोदीले सार्वजनिक गरेको सन्देशलाई नेपाल–भारतबीच ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई अझै प्रगाढ बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ।

यसअघि, प्रधानमन्त्री ओलीले शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। सो भेटमा नेपाल–चीनबीच पारस्परिक हितका विषय, व्यापार, पूर्वाधार र आपसी सहयोगका विषयमा छलफल भएको थियो।

विशेषज्ञहरूका अनुसार ओलीको यो भ्रमणले त्रिपक्षीय सन्देश बोकेको छ— चीनसँगको सम्बन्ध मजबुत बनाउने मात्र नभई भारतलाई पनि नेपालसँगको सम्बन्ध अझै घनिष्ट बनाउन जोड दिने संकेत भएको छ।