काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना गर्न लागिएको ‘नेसनल प्रिमियर लिग’ (एनपिएल) को तयारीमा तीव्रता दिन निर्देशन दिएका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्मित ‘नेसनल हाई परफमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएलको तयारी अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरे।

क्रिकेटको माध्यमबाट नेपालमा व्यवसाय र आम्दानीको सम्भावना बढ्दो रहेको बताउँदै उनले खेल क्षेत्रमा राजनीति नगर्न सबै पक्षलाई चेतावनीसमेत दिए। एनपिएलको दोस्रो संस्करणबारे देखिएको अन्योलको अन्त्य गर्दै ओलीले यसलाई सफल बनाउन विशेष ध्यान दिनुपर्ने बताए। उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले हालैको स्पेन भ्रमणमा रियल म्याड्रिडको स्टेडियमको अवलोकन गरेको प्रसंग उठाउँदै, नेपालमा पनि स्तरीय पूर्वाधारको आवश्यकता औंल्याए। उनले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माण गर्ने घोषणा गरे।

यसै अवसरमा प्रधानमन्त्री ओलीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरबदल अब राष्ट्रिय लज्जाको विषय बन्ने भन्दै, तोकिएको समय अर्थात् मंसिर २ देखि ९ गतेभित्रै सुर्खेतको वीरेन्द्रनगरमा खेलकुद प्रतियोगिता सम्पन्न गर्न राखेपलाई निर्देशन दिए। प्रधानमन्त्रीको भनाइ अनुसार खेल क्षेत्र अब केवल प्रतिस्पर्धाको मात्र नभई राष्ट्रिय स्वाभिमान, विकास र रोजगारीको पनि माध्यम बन्ने दिशातर्फ अघि बढ्नुपर्छ।