नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कडा प्रतिक्रिया जनाएका छन्।
लामो समयसम्म सामाजिक सञ्जालमा नदेखिएका लामिछाने कुलमान हटाएको निर्णय सार्वजनिक भएसँगै फेसबुक लाइभमा आए। उनले लाइभमा बत्ती निभाए, मैनबत्ती बालेर प्रतिकार जनाए र १ मिनेट २३ सेकेण्डसम्म मौन बसे।
सरकारको यो कदमलाई उनले ‘नयाँ नेपालको सपना चकनाचुर पार्ने षड्यन्त्र’ को संज्ञा दिएका छन्। लामिछानेले कुलमानकै नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भएको स्मरण गराउँदै सरकारको निर्णयप्रति आक्रोश पोखे। यो घटनाले राजनीतिक वृत्तमा व्यापक बहस निम्त्याएको छ।