काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवासबाट पक्राउ पर्नुअघि एक भावुक भिडियो सन्देश सार्वजनिक गरेका छन्। उक्त सन्देशमार्फत उनले आफूमाथि ठुलो अन्याय भएको आरोप लगाएका छन्।

रविले भिडियोमा भने, “मेरो घरमा प्रहरी आएको छ। तर अहिलेसम्म मलाई कुनै कागज, कुनै पुर्जी दिइएको छैन।” उनले बताएअनुसार प्रहरी बिना पुर्जी बेडरुमसम्म प्रवेश गरेर आफूलाई धरपकड गर्न आएको हो।
उनले प्रश्न उठाए, “उताबाट आदेश आउनुअघि नै प्रहरी तैनाथ हुनुले ठूलो आशंका पैदा भएको छ।”

रविले अदालतको आदेश सधैं मान्दै आएको स्मरण गराउँदै भने, “म पहिले पनि आफैँ उपस्थित हुन गएको थिएँ, अहिले पनि सार्वजनिक रूपमा छु। तर यस्तो राज्य आतंक किन?”

उनले चितवनको भोलिको सभा नरोकिन आग्रह गर्दै भने, “भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला। अन्य साथीहरू आउनुहुनेछ, कार्यक्रम चलिरहनेछ।”

सबैभन्दा भावुक अंशमा उनले भने, “न्यायको लडाइँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु।”
“माथि संसारकै सबैभन्दा ठूलो अपराधिलाई जस्तो व्यवहार गरिएको छ,” भन्दै उनले आक्रोश पोखे।
उनले कुनै गल्ती वा अपराध नगरेको पनि स्पष्ट पारे।

सन्देशको अन्त्यमा रविले देशभरका नागरिकहरूलाई विश्वास दिलाउँदै भने, “न्यायका ढोका ढकढक्याउँछु। म कानुनी लडाइँमा छु। यदि मलाई हत्या गरियो भने पनि, घण्टी चुनावचिन्ह नेपाली मतपत्रमा छ। त्यसलाई निरन्तरता दिनुहोस्।”