कर्नाटक राज्य, बैंगलोरमा आयोजित प्रवासी नेपाली सम्पर्क मञ्च अन्तर्गतको रास्वपा कर्नाटक राज्य समिति को घोषणा सभामा सहभागी हुँदै सांसद सोविता गौतमले रास्वपाप्रतिको जनसमर्थनबारे उत्साहजनक भनाइ दिएकी छन्। आइतबार हजारौं नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा उनले भनिन्, “रोजगारीका लागि भारत आएका अधिकांश नेपालीहरू विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट हुनुहुन्छ। उहाँहरूले नेपाल फर्किएर आगामी निर्वाचनमा सक्रिय रूपमा भाग लिने दृढ इच्छा देखाउनु भयो।”

गौतमले आगामी निर्वाचनमा नेपाली जनताले परिवर्तनको मत दिने विश्वास व्यक्त गर्दै भनिन् । “हाम्रो आग्रहभन्दा बढी उहाँहरूको जागरुकता र परिवर्तनप्रतिको उत्कृष्ट चाहनाले अबको निर्वाचनमा रास्वपा पहिलो ठूलो दल बन्ने कुरामा कुनै शंका छैन।” उक्त कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा सांसद हरि ढकालले पनि उपस्थिति जनाएका थिए।

कार्यक्रमपछि सामाजिक सञ्जालमा लेख्दै गौतमले भारतमा रहेका नेपालीहरूको ऊर्जा र लोकतन्त्रप्रतिको आशाले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “देशबाट टाढा भए पनि उहाँहरूमा समृद्ध नेपाल बनाउने सपना जीवित छ। अबको निर्वाचनमा जनताले मतपत्रको शक्तिबाट आफ्नो भाग्य आफैं लेख्नेछन्।”

यो उत्साहपूर्ण सभा र जनसहभागिताले प्रवासी नेपालीहरूमा राजनीतिक सचेतना बलियो हुँदै गएको संकेत गरेको छ।