गौर — रौतहट जिल्लाको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू लागू गरिएको हो।

बिहीबार राति मस्जिदमा रात्री प्रार्थना भइरहेका बेला हिन्दु समुदायको विवाहमा बाजागाजा बजाइएको विषयलाई लिएर सुरु भएको सामान्य विवाद शुक्रबार थप चर्किँदै आगजनी र तोडफोडसम्म पुगेको हो। विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्याँलका अनुसार प्रदर्शनका क्रममा गौर नगरपालिका–४ स्वर्णामाईमा भारतीय नम्बर प्लेटको एक स्कारपियो र राजगढ नगरपालिका–९ बैरियामा अर्को स्कारपियो गाडीमा आगजनी गरिएको छ। साथै अन्य केही स्थानमा मोटरसाइकलसमेत जलाइएको सूचना आएको छ। घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको बताइएको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरिरहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। कर्फ्यू अवधिमा घरबाहिर निस्कन, भेला–जुलुस गर्न, सभा–प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा दुवै समुदायबीच सहमति भएको थियो। तर सहमतिको प्रभाव व्यवहारमा नदेखिएपछि प्रशासनले कडा कदम चाल्दै कर्फ्यू आदेश जारी गरेको जनाएको छ। प्रशासनले सबै पक्षलाई संयमित हुन र अफवाह नफैलाउन आग्रह गरेको छ।