राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलाइएको राजनीतिक प्रतिशोधको विरोधमा जारी हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन्। शनिबार दिउँसो ३ बजे रास्वपाको पार्टी कार्यालय, वनस्थलीमा पुगेर उनले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि बोल्दै डा. भट्टराईले रवि लामिछानेमाथि देखिने गरी प्रतिशोध गरिएको गन्ध आएको टिप्पणी गरे।

उनले भने, “तपाईं असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने भनाइ छ। लोकतन्त्रमा विधिको शासन हुनुपर्छ। तर रविको हकमा उनलाई अल्झाउने कार्य हुँदैछ, यसले विधिको शासनभन्दा बाहिरको नियत देखिन्छ।” भट्टराईले अदालतबाट दोषी नठहरिएसम्म कोही पनि निर्दोष मानिने सिद्धान्तमा आफू विश्वास गर्ने बताए। उनले रविलाई प्रतिशोधको शिकार बनाउन खोजिएको स्पष्ट संकेत गर्दै थपे, “रास्वपा वैकल्पिक शक्तिका रूपमा उदाउँदै छ। रवि मेरा मित्र पनि हुन्, त्यसैले उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ।”उनको यो ऐक्यवद्धता हस्ताक्षर अभियानमा थप ऊर्जा दिने विश्वास गरिएको छ।