काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ तथा ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतको सुनुवाइ स्थगित भएको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको थियो। तर सुनुवाइ सुरु हुनुअघि नै न्यायाधीश बालकृष्ण ढकालले आफूले यो मुद्दा हेर्न नमिल्ने जानकारी गराएपछि पेसी स्थगित गरिएको हो।

न्यायाधीश ढकालले यसअघि रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालतमा आदेश दिँदै धरौटीमा छोड्न नमिल्ने फैसला गरेको पृष्ठभूमि रहेको उल्लेख गरे। सोही विषयसँग सम्बन्धित मुद्दामा पुनः सुनुवाइ गर्दा निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै उनले इजलासबाट अलग रहने निर्णय गरेका हुन्। न्यायाधीश ढकालको अस्वीकारपछि उक्त रिट निवेदनको सुनुवाइ अर्को मितिका लागि सारिएको छ। सर्वोच्च अदालतले यस मुद्दाको अर्को पेसी माघ ११ गतेका लागि तोकेको छ।

महान्यायाधिवक्ता कार्यालयले गरेको अभियोगपत्र संशोधनको निर्णयलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा चासो बढिरहेका बेला सुनुवाइ स्थगित हुँदा मुद्दा थप लम्बिने संकेत देखिएको छ।