राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछाने आगामी निर्वाचनभन्दा अघि नै कानुनी प्रक्रियाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, लामिछानेलाई जेलमै राखेर पार्टीलाई कमजोर पार्ने प्रयास भएको भए पनि त्यसलाई सच्याउन सरकारसँग पहल गरिएको छ।
शनिबार दाङको तुलसीपुरमा आयोजित नगरस्तरीय भेलामा बोल्दै वाग्लेले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष लामिछानेलाई लक्षित गरी भएको अत्यधिक अभियोजनप्रति ध्यानाकर्षण गराइएको जानकारी दिए। उनले प्रतिशोधपूर्ण राजनीतिक अभ्यासको अन्त्य हुनुपर्ने र त्यसको सुरुआत यही प्रकरणबाट हुनुपर्ने धारणा राखे।
वाग्लेले प्रधानमन्त्री कार्की पूर्व न्यायमूर्ति भएकाले न्यायिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष पहल हुने अपेक्षा गरिएको बताए। उनका अनुसार, लामिछानेमाथि लगाइएका मुद्दाहरूले न्यायभन्दा बढी राजनीतिक उद्देश्य बोकेको संकेत देखिएको छ।
उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव जित्न सक्छ भन्ने डरकै कारण सभापतिमाथि अनावश्यक दबाब सिर्जना गरिएको हो। तर हामी न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप चाहँदैनौँ, केवल अत्यधिक अभियोजन भएको विषयमा सचेत गराउँदै आएका छौँ।”
वाग्लेले सहकारी ठगीसम्बन्धी विषयमा समेत अनुसन्धान समितिको प्रतिवेदनलाई उल्लेख गर्दै तीन महिनासम्म अध्ययन गरेर तयार पारिएको १२०० पृष्ठको प्रतिवेदनमा रकम निकासी प्रक्रियामा लामिछानेको संलग्नता नदेखिएको दाबी गरे।उनले देशका शैक्षिक संस्था, प्रशासनिक निकाय र अन्य राज्य संरचनाहरूमा दलगत हस्तक्षेप र राजनीतिक भागबण्डाका कारण दोहन बढ्दै गएको आरोप लगाए। यस्तो प्रवृत्तिको अन्त्य आगामी निर्वाचनबाट सम्भव हुने भन्दै उनले मतदातालाई सचेत निर्णय गर्न आह्वान गरे।
महँगो, भड्किलो र पहुँचवालाको मात्रै हित हुने राजनीतिलाई विस्थापित गर्न रास्वपालाई संघीय संसदमा बलियो उपस्थिति गराउन आवश्यक रहेको वाग्लेले बताए। उनका अनुसार, लामिछाने रास्वपाका उम्मेदवारहरूसँगै चुनावी मैदानमा देखिनु नै परिवर्तनको संकेत हुनेछ।